प्रकाशको अभियान : पैसा चिन्दै पैसा चिनाउँदै

काठमाडौं : विश्वका अर्बपतिहरुको सूचीमा सूचीकृत नेपाली धनाढ्य बिनोद चौधरीले चार महिनाअघि एउटा कार्यक्रममा भनेका थिए,’ पैसा साधन हो, साध्य होइन । पैसाले धेरै काम गर्न सकिएला तर, सबै काम गर्न सकिँदैन ।’ उनले थपे, ‘पैसा एउटा नम्बर मात्र हो ।’

यत्ति मात्रै उल्लेख गर्दा उनको भनाइको पूरै अर्थ आउँदैन । चौधरीले त्यसैमा थपेका छन्, ‘कति कमाउँछु भन्ने होइन, कमाएको पैसा कति जोगाउँछु र कसरी सदुपयोग गर्छु भन्ने कुरा महत्वपूर्ण हो ।’

चौधरी धनाढ्य छन् । उनीसँग धेरै धनराशी छ । उनी धनी हुनुमा एउटै कारण छ, उनले पैसा के हो भन्ने चिनेका छन् र त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने पनि जानेका छन् ।

तर, लाखौं नेपालीहरुमा अझै पनि पैसाबारे एकाङ्गी  बुझाइ छ । पैसा कमाउने हो, कमाए अनुसार खर्च गर्ने हो, नपुगेपछि फेरि कमाउने हो भन्ने मानसिकता छ । के यो ठीक हो ? वित्तीय साक्षरताका युवा अभियन्ता प्रकाश कोइरालाको बुझाइमा यो सरासर गलत हो । पैसा कमाउनु एउटा महत्वपूर्ण पक्ष हो भने त्यो भन्दा महत्वपूर्ण पक्ष बचत गर्नु हो । उनले यही कुरा बुझाउन झण्डै पाँच वर्ष खर्चिए । पैसाको महत्व (उपयोग) सिकाउँदै गर्दा प्रकाश यतिबेला विश्वका प्रभावशाली युवाहरुको सूचीमा सूचीकृत भएका छन् ।

विश्वप्रसिद्ध ‘फोर्ब्स  म्यागेजिन’ ले १९ अप्रिल २०२१ मा सार्वजनिक गरेको ‘फाइनान्स एण्ड भेञ्चर’ विधातर्फ प्रकाशको नाम एसियामा ३० वर्ष मुनिका ३० जना प्रभावशाली व्यक्तिको सूचीमा परेको हो

दोलखाको मध्यम वर्गाीय परिवारका सदस्य प्रकाश आफैलाई पैसाको खासै खाँचो परेन । पैसा नभएर गर्न सकिएन भन्ने त्यस्तो कुनै विषय छैन । तर, पनि उनलाई पैसाको महत्व जगाउन पाए हुन्थ्यो भन्ने चेतना भित्रैबाट आयो । छिमेकी घरमा भएको एउटा सामान्य झगडाले उनको मन मस्तिष्क नै परिवर्तन गरिदियो ।

छिमेकी घरको त्यो झगडा

 दोलखाको पोबटीस्थित गाउँमा आठ कक्षासम्म पढेका प्रकाश राम्रो स्कुलमा पढ्ने भन्दै सदरमुकाम हानिए । पण्डित निलप्रसादका नाति प्रकाशलाई शिक्षक बुवा पर्शुराम र स्थानीय स्वास्थ्यकर्मी आमा मुना कोइरालाको भरपूर साथ दियो । चरिकोटस्थित कालिन्चोक माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनी उच्च शिक्षाका लागि भने काठमाडौं आए ।

काठमाडौं र दोलखाको दूरी धेरै छैन । चाडपर्व र बेला मौकामा उनी घर गइरहन्थे ।

दशैंको बेला थियो ।

कोलम्बस कलेजबाट ‘म्यानेजमेन्ट’मा प्लस टु गरी शंकरदेव क्याम्पसमा बिबिएस गर्दै थिए । दशैं मनाउन पोबटी पुगेका उनको नित्यकर्म अन्तर्गत ‘चण्डीपाठ’ पनि थियो । नवरात्रीमा दैनिक चण्डीपाठ गर्ने कोइराला परिवारको पुरानो परम्परा हो ।

एक दिन प्रकाश चण्डीपाठ गर्दै थिए, छिमेकी घरमा झगडा भएको सुने । झगडाको कारण थाहा थिएन, भोलिपल्ट मात्रै खुल्यो । पँधेरोमा भेटिएका छिमेकी भाइसँग उनले सोधे ।

‘झगडाको कारण त पैसा रहेछ’ हाल क्यानडामा रहेका उनले ग्लोबल नेप्लिजसँगको कुराकानीमा भने, ‘जब कारण थाहा पाएँ, खिन्न भएँ ।’ श्रीमतीले तरकारी नमिठो पकाएको भन्दैै जड्याहा श्रीमानले  श्रीमतीलाई गाली गरेका रहेछन् । ‘त्यो परिवार आर्थिक रुपमा त्यति कमजोर थिएन जसले झगडा गराओस्’ उनले भने, ‘कमजोरी त पैसाको सदुपयोग गर्न नसक्नु थियो । छिमेकमै यस्तो देखेका प्रकाश बेचैन हुँदै काठमाडौं फर्किए ।

बेचैन हुँदै चैनपुरको यात्रा

सन् २०१५ को मार्च महिनाको एक दिन । गुरु रवि शंकरले स्थापना गरेको ‘आर्ट अफ लिभिङ’ का एक अनुयायी थिए प्रकाश । काठमाडौंको नयाँ बानेश्वरस्थित आश्रममा हुने सत्सङगका सहभागी पनि थिए । सत्सङगकै लागि आश्रम पुगेका उनले त्यहाँबाट एउटा टोली सत्सङगकै लागि बझाङ जिल्लाको चैनपुर जान लागेको थाहा पाए ।

‘मलाई पनि जान मन लाग्यो’ उनले भने, ‘मेरो प्रस्ताव स्वीकृत भयो, टोलीमा पनि परेँ ।’

त्यसअगावै उनले पैसाको महत्व सिकाउने उपायका बारेमा अध्ययन गर्न थालिसकेका थिए । आफ्नो अध्ययनलाई चैनपुर पुगेर प्रयोग गर्ने उनको योजना थियो ।

सत्सङ टिमसँगै प्रकाश पनि पुगे चैनपुर । वरपरको वातावरण हेरे, मानिसहरुको आनिबानी नियाले । बालबालिकाको क्रियाकलाप बुझे । बिहान हुन्थ्यो सत्सङग  । दिउसो र साँझ उनलाई फुर्सद नै थियो । त्यही फुर्सदको समयलाई उनले सदुपयोग गरे । उनले समयको सदुपयोग गर्दै त्यहाँका बालबालिकालाई पैसाको सदुपयोग गर्ने तरिका सिकाउन थाले । अभिभावकहरु पनि थपिए । उनको यही अभियान हो ‘वित्तीय साक्षरता’ ।

 बझाङमा वित्तीय साक्षरता

चैनपुर सदरमुकाम भएपनि शहरी सुविधा भने खासै थिएन । पसलहरु थिए । पसलका ग्राहकहरु बालबालिका पनि थिए । बालबालिका चाउचाउ, बिस्कुट, चकलेट किन्थे । भएजति पैसा खर्चिन्थे । काम गर्न सक्नेहरु प्रायः भारत जान्थे, पैसा कमाउथे, ल्याउँथे । मासु र मदिरामा धेरै पैसा खर्चिन्थे । केटाकेटी भुलाउन पैसा दिन्थे ।

तिनैै बालबालिका र उनीहरुका अभिभावकलाई जम्मा गरेर प्रकाशले पैसाको उपयोग कसरी गर्ने भनेर सिकाउन थाले ।

शुरुका केही दिन उनले बालबालिकालाई मात्रै सिकाउन थाले । उनको अभियानमा २१ जना बालबालिका सहभागी भए । पैसा जोगाउन उनीहरु सहमत भए । प्रत्येकलाई एक-एक वटा खुत्रुके पनि दिए । मिठाइ खान पाएको पैसा बालबालिकाले खुत्रुकेमा राख्न थाले ।

‘बच्चाहरु त सहमत भए तर, अभिभावकहरु अझै सहमत भएका थिएनन्’ उनले त्यतिबेलाको अनुभव सुनाए । एक दिन अभिभावकहरु जम्मा पारेर उनले भने ‘तपाईं हाम्रो यस्तै व्यवहारले धनी झन् धनी भइरहेका छन् र हामी झन गरिब भइरहेका छौं । अब के गर्ने आफैँ सोच्नुस्,’ प्रकाशले यत्ति भनेपछि भने अभिभावकहरु पनि सहमत भए र फजुल खर्च नगर्ने प्रतिबद्धता जनाए ।

 प्रकाशका सूत्र
 
नेपालका अधिकांश ग्रामीण क्षेत्र अझै पनि बैंङ्गकिङ पहुँच भन्दा बाहिर छन् । सरकारले हरेक पालिकामा कम्तीमा एउटा बैंक हुनैपर्ने वाध्यकारी नीति बनाएपछि बल्लतल्ल अहिले पालिकाहरुमा बैंक पुगेका छन् । बैंकमा पैसा जम्मा गर्नुपर्छ, ऋण चाहिए बैंकले नै दिन्छ भन्ने ज्ञान पनि अझै धेरैमा पुगेको छैन ।

६ वर्षअघिको कुरा त झनै फरक थियो । उनले बैंकको प्रयोगका बारेमा सर्वसाधारणलाई सिकाउनुअघि घरमै पैसा जोगाउन र खर्च तथा आम्दानीको विवरण राख्न सिकाउन थाले ।

खुत्रुके (पिग्गी बैंक), वित्तीय डायरी (फिनान्सियल डायरी) र अभिभावक प्रशिक्षण (प्यारेन्ट्स कोचिङ) लाई उनले सूत्र बनाए । ‘त्यसपछि त अभिभावकदेखि बालबालिकासम्मले डायरी बनाउन थाले, खुत्रुकेमा पैसा जम्मा गर्न थाले र महिनैपिच्छे खर्च र बचतको हिसाब निकाल्न थाले ।