नर्थहोल्ट टेन के रन’ मा सहभागी हुन बैकुण्ठ मानन्धर र हर्क साम्पाङ  बेलायतमा 

लन्डन— नेपालको तर्फबाट चार  पटक ओलम्पिक खेलमा सहभागी  एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘नर्थहोल्ट टेन के रन’ मा सहभागी हुन बेलायत आइपुगेकाछन् ।

 नर्थला पार्क, नर्थहोल्टमा आउँदो आइतबार (२७ अक्टोबर)  बिहान ९:३०  बजे  हुन लागेको नर्थहोल्ट टेन के रनमा मानन्धर र मेयर साम्पाङ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुन लागेको कार्यक्रम संयोजक सन्तोष राईले जनाए । 

 मानन्धर यही इभेन्टका लागि १७ अक्टोबरमा लन्डन आइपुगेका हुन्। उक्त दौडकालागि मंगलबारसम्म ३३२ जना सहभागीले नाम दर्ता गराएको आयोजक नेपाल रनका कोषाध्यक्ष रबिन्द्र अधिकारीले बताए । सोही दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि हुंदैछ । दौडमा दर्शकहरुको संख्या उल्लेख्य रहने आयोजकको अपेक्षा छ । रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको छ । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट , मेक्सवर्थ  एकाउन्टेन्ट्स, मम हाउस ३६५, सह प्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राइ यायोक्खा , गोर्खा किचेन लगायत रहेका छन्। कार्यक्रममा नेपाली खानाको फुड स्टल पनि रहने छ। 

धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ, श्रीमती निर्मला लिम्बु र छोराका साथ  गत १७ अक्टोबर यूके आइपुगेका छन् । समुदायमा स्वास्थ्य र तन्दुरुस्ती को चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापक मध्यका एक पदाधिकारी जगन कार्कीले बताए ।

उक्त रनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैकुण्ठ मानन्धर र नेपाल रनका संयोजक पाण्डव महतोले दौडमा लागेर पुनर्जीवन प्राप्त गरेको अनुभव सुनाउदै सक्रिय जीवनको महत्व बताएका थिए।

लन्डनमा नेपाली समुदायले गर्ने यो रन प्रख्यात छ ।