१२ मात्र सकेर बिदेश पढ़्न पाठाउदा छोराछोरी मात्र हैन पैसा र सर्बस्व गुमाउने जोखिम

डा जगन कार्की

हिजोआज १२ कक्षा पास गरेपछि अधिकांश विद्यार्थी विदेश जान चाहन्छन्। कलिलो जवानीमा चरा झैं उडेर विश्वभर जाने जोश र रहर पलाउनु राम्रो कुरा हो। अदम्य साहस, सृजनशीलता र हौसला बढ्नु सकारात्मक हो जसले जीवनमा केही गर्ने प्रेरणा र शक्ति प्रदान गर्छ। तर जोसमा होश गुमाउँदा यही उमेरबाट जीवन बर्बादीतिर पनि धकेलिन सक्छ।

नयाँ पुस्तासँग सामाजिक सञ्जाल, साथीभाइ, मिडियामार्फत विश्वको जानकारी र भर्चुअल अध्ययन भ्रमण गरे प्रत्यक्ष जान्न, बुझ्न सक्ने क्षमता हुन्छ। तर होश गुमाउन मलजल गर्ने सामाजिक सञ्जाल, विदेश जानु नै जीवनको अन्तिम सत्य हो भन्ने भ्रमपूर्ण राष्ट्रिय भाष्यबाट सजग र मुक्त रहनु आजका नेपाली युवा–युवतीको चुनौती हो।

भर्खरै १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले आफ्नो भविष्यको बारेमा परिपक्व निर्णय गर्न सक्दैन। अझ विदेशमा आइपर्ने समस्यासँग लड्न पर्याप्त अनुभव त हुँदैहुँदैन। हाम्रो शिक्षा प्रणालीले प्रतिस्पर्धाको युगमा कसरी आफूलाई अब्बल बनाउने भन्ने पूर्वतयारी गर्न सिकाएको हुँदैन। सम्बन्धित देशमा गएका विद्यार्थी र अन्य जानकारसँग सोधखोज गर्ने, सम्भावित समस्या र चुनौतीबारे जानकारी लिने, अनुसन्धान गर्ने काममा पनि चासो कम देखिन्छ। नेपालमा नै रहेर पढ्न र गरिखान गाह्रो हुने अवस्थामा भएका विद्यार्थीले विदेशमा गएर नसोचेको दुःख पाउन सक्छन्। किनकि विदेशमा थालथालमा खाना र खर्च दिने न बा–आमा हुन्छन् न काकाबाजे ! न त नेपालमा भएका आफन्तले चाहेर पनि विदेशको खर्च व्यहोरिरहन सक्छन्।

हिजोआज विदेश जान रहर गर्ने अधिकांशले हचुवा र देखासिकीको भरमा निर्णय लिइसकेपछि, ऋणपानमा कलेजलाई पैसा तिरेपछि मात्र बल्ल यसबारे खोज-अनुसन्धान गर्न थालिएको पाइन्छ। यो उल्टो र दुःखको बाटो हो। रिसर्च पनि सस्तो कोर्स कहाँ पाइन्छ भनेर गरेको पाइन्छ। अभिभावकले पनि पढ्न पठाउने कोर्स, विश्वविद्यालय, आवास, कामको अवसर र खर्चको लेखाजोखा गर्ने लेठो गरेको पनि पाइँदैन। यसका लागि सामाजिक सञ्जाल, अनलाइन जानकारी, विदेश रहेका आफन्त, साथीहरू जानकारीको स्रोत हुनसक्छन्।

अभिभावकले खाडीमा पसिनासँग साटेको र खेतबारी बेचेको रकम, ऋण लगानी गरेर विदेश जाने बित्तिकै आकाशबाट जागिर, पैसा, शिक्षा थालमा आउँदैन। आप्रवासन नीतिमा कडाइ गरिरहेका गन्तव्य देशमा विना अध्ययन, तयारी र सीप वैदेशिक अध्ययनमा जानु ठूलो जोखिम उठाउनु हो। कम्तीमा स्नातकसम्म अध्ययन सकेपछि स्नातकोत्तर तह अध्ययन गर्न जानु धेरै दृष्टिले लाभदायक हुन्छ।  यसरी आफ्नै भविष्यको बारे हचुवामा जोखिम लिनेले उसै पनि खास प्रगतिको हक र संभावना बोकेको हुन्नन्। काकताली परेर कोही सफल बन्नु बेग्लै कुरा हो। अझ विश्व बजारमा प्रवेश गरेर प्रतिस्पर्धा गर्दै आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न तयार हुनु अर्को महाभारत छ। 

बेलायतमा अध्ययन

नेपाली युवायुवतीले बेलायत मात्र हैन कुनै पनि देश जानुअघि कम्तीमा स्नातकसम्म अध्ययन सकेर सीप सिक्ने, कामको अनुभव लिने र भाषा, सवारी चालन र कम्प्युटरको दक्षता हासिल गर्नु अत्यावश्यक हुन्छ

बेलायतको शैक्षिक प्रणाली विश्वका महँगा मध्येमा पर्दछ। बेलायतकै रैथाने सर्वसाधारणलाई पनि पैसा जुटाएर पढ्न धौ–धौ हुन्छ। उनीहरूले पनि सरकारी अनुदान वा ऋणमा पढिरहेका हुन्छन्।

आप्रवासीको सङ्ख्या बढेपछि बेलायत सरकारले भिसा नियममा कडाइगरिरहेको छ भने विद्यार्थी भिसामा आएकालाई यहीं बस्नबाट रोक्न कडा मापदण्ड अपनाइरहेको छ। फलतः विद्यार्थी भिसाबाट स्थायी बासिन्दा बन्न असम्भव प्रायः बन्दै गइरहेको छ।  

विदेशी विद्यार्थीहरूका डिपेन्डेन्टहरूलाई साथमा ल्याउन नदिएर लामो समय बस्न असजिलो बनाई आप्रवासीको सङ्ख्या घटाउने र अर्थतन्त्र पनि जोगाइराख्न सकिने बेलायती सरकारको रणनीति देखिन्छ। दक्ष जनशक्तिका लागि केयर गिभर, नर्स र सेफहरूलाई पनि भिसा दिएको भए तापनि केयर र सेफमा अत्यधिक दुरूपयोग भएको पाइएपछि डिपेन्डेन्ट ल्याउनलाई कडाइ र केही खाले काममा त बन्द नै गरिएको देखिन्छ।

बेलायतमा विद्यार्थीलाई पढाइमा बाधा नहोस् भनेर हप्तामा २० घन्टा मात्र काम गर्न दिने नियम छ। यसअघि विद्यार्थीले आफ्नो डिपेन्डेन्ट श्रीमान्, श्रीमती वा सन्तान ल्याउन पाउँथे। अब यसमा पढाइ र परीक्षा मात्र हुनेकोर्समा प्रतिबन्ध लगाइएको छ। डिपेन्डेन्टलाई ल्याउने सुविधा स्नातकोत्तर अनुसन्धान पाठ्यक्रमहरू (रिसर्च डिग्रीहरू), विद्यावारिधि र सरकारी छात्रवृत्तिमा आएका विद्यार्थीले मात्र पाउनेछन्।

विश्वविद्यालयहरू बेलायतका ठूला शहरमा मात्र होइन, दुर्गम ठाउँहरूमा पनि छन्। मुख्य शहरहरूमा काम पाउन तुलनात्मक रूपमा सजिलो छ तर शुल्क र अन्य खर्च महँगो हुन्छ। दुर्गम क्षेत्रमा शुल्क र आवास-खानपिन खर्च कम भए पनि काम पाउन गाह्रो हुन्छ। सस्तो कोर्स र विश्वविद्यालय खोजेर दुर्गम क्षेत्रमा पुगेकाहरूमध्ये अधिकांशले दुःख पाइरहेका छन्।  

साधारण हिसाब गर्दा पनि प्रति महिना खानामा २०० पाउण्ड, यातायातमा२०० पाउण्ड र लत्ता–कपडामा न्यूनतम १०० पाउण्ड, युकासको सन् २०२३को लागत अनुमान प्रति महिना भाडा कम्तीमा ४५० पाउण्ड जोड्दा मासिक खर्च कम्तीमा ९५० पाउण्ड स्टर्लिङ हुनपुग्छ। सातामा २० घन्टा मात्र काम गर्न पाउने भएकोले विद्यार्थीले प्रति महिना ८८० पाउण्ड मात्र कमाउन सक्छन्। छुट्टीको बेला थोरै बढी काम गरे कमाइ र खर्च बराबरीसम्म हुने अवस्था हुन्छ, त्यो पनि काम पाएको अवस्थामा।

पहिलो एक वर्ष जेनतेन टिके पनि दोस्रो वर्ष विश्वविद्यालयको शुल्क कहाँबाट ल्याउने ? एक वर्ष विश्वविद्यालय शुल्क १६ हजार पाउण्ड अर्थात् २६ लाख नेपाली हुन्छ। १ वर्षको तिरेर आएकाहरूले अर्को वर्ष शुल्क बुझाउन नेपालबाट ल्याउन नसके मुस्किल हुन्छ। नेपालबाट पहिलो वर्ष नै ऋण गरेर आएको हो भने त झन् अचाक्ली तनाव सुरू हुनेछ विद्यार्थी रपरिवार सबैलाई। 

एक वर्ष काम र वातावरण बुझी नसकी अर्को वर्ष सुरू हुन्छ। घरबाट पैसा पेल्न नसके घरको सदस्यसँग नै नाता टुट्न सक्ने मात्र हैन मानसिक तनाव र ठक्करले युवाको भविष्य नै बर्बाद हुन सक्छ।  

यो तीनवर्षे कठिनाई भाग्यवश थेगेर पढाइ सक्नसके वर्क परमिटमा परिवर्तन गर्ने अवसर भए पनि अत्यधिक विद्यार्थी र पहिलादेखि नै काम गरिरहेकाहरूको अनुभवले नयाँलाई पाउने सम्भावना न्यून छ।

नगदमा काम गर्न, २० घन्टा बढी काम गर्न आक्कलझुक्कल पाए पनि पढाइलाई निरन्तरता दिन गाह्रो छ। अविवाहित युवा युवतीहरूमा यो अलावा खुल्ला रूपमा पाइने गेम्बलिङ, नशालु पदार्थ, समाजको खुल्लापनको असरबाट बच्ने चुनौती पनि छ। महिलाहरु साझा कोठामा बस्ने बाध्यताले बलात्कारको सीकार भएका, मानसिक संतुलन गुमाएका देखी हाल २-३ वटा आत्मा हत्याका सम्म खबर आएका छ ।

बेलायतमा विद्यार्थीहरूको अत्यधिक चाप बढेसँगै हाल विद्यार्थीलाई काम पाउन गाह्रो छ। घरमा ढलेको गिलास नउठाएकाहरूले बेलायत आएर भुईं पुछ्ने, भाडा माझ्ने, भारी बोक्ने, गिलास उठाउने पार्ट टाइम काम गर्न हच्किनेसम्म पनि रहेका नेपाली युवाहरू पाइएको नेपालीलाई रोजगार दिने र रोजगारीमा परामर्श दिनेहरू बताउँछन्। काम पाइहाले पनि कमाइने एकप्रकारले पकेट खर्च मात्रै हो। बस्ने र खाने खर्चसम्म जुटाउन सकिए पनि पढ्ने खर्च जुटाउन सकिने अवस्था नै छैन।

शैक्षिक परामर्शदाताले कमिसनको चक्करमा केही भाग्यवश सफल भएकाहरूको उदाहरण दिएर, अनावश्यक काम र कमाइको लोभ देखाएर बेलायत आउन प्रोत्साहन गरिदिने गरेकोले पनि विकृति बढेको छ। 

कमाउने र पढ्ने आशामा आएका विद्यार्थी काम नपाएर दुई साता टिक्न गाह्रो छ। खर्च नधानेर काम नपाए पढाइमा पनि राम्रो गर्न सकिरहेका हुँदैनन्। परीक्षामा असाइन्मेन्ट सकेका हुँदैनन्। कोर्ष पास गर्न नसक्दा मोडेल र सेमेष्टर फेल भइरहेका हुन्छन्। यस्ता परिस्थितिले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा असर गर्ने, कुलत र अपराधमा लाग्ने संभावना अति हुने गर्छ। दैनिक खाना, कोठा भाडा, यात्रा खर्च जोहो गर्न र ट्युसन फी तिर्न नसकेर मानसिक र स्वास्थ्य समस्या आएका विद्यार्थीहरूको संख्या उल्लेख्य बढेको छ। योभन्दा खराब केही अप्रिय घटना पनि घटेका छन्।

परीक्षा समयमा पास नभए, नियमित कक्षामा नआए विश्वविद्यालयलाई विद्यार्थीको भिसा रद्द गरेर फर्काउने अधिकार हुन्छ। यस्तो समस्या नेपाली विद्यार्थीले उल्लेख्य मात्रामा व्यहोरिरहेका छन्। त्यसपछि स्वदेश फर्कनुको विकल्प रहन्न।  

२५-३० लाख दाउमा राखेर युवा छोराछोरीको भविष्यसँग भाग्यवादी जुवा हान्ने प्रवृत्ति अभिभावकमा बढेको छ। नेपालमा राख्न गाह्रो भयो, जेसुकै गरून् भन्ने सोचाइले गतिलो नतिजा दिंदैन। बेलायत पढ्न आउने आवेदनमा म पढ्न र खर्च धान्न सक्छु परिवारको प्रशस्तै आम्दानी छ भनिएको हुन्छ। त्यसैले यहाँको सरकारलाई आप्रवासी विद्यार्थीको परिवारको अवस्था चासोको विषय हुन्न। यहाँको विश्वविद्यालयले त बेलायत छोराछोरी पढ्न पठाउने अभिभावकलाई अर्बपति ठानेका हुन्छन्। 

स्नातकोत्तर पढ्न बेलायत आउन भने तुलनात्मक रूपमा केही सहज छ तर महंगो शुल्क र खर्च धान्न गारो छ । स्नातक पढ्न आउनेलाई अत्यधिक जोखिम छ। यो उमेरमा यहाँ व्यहोर्नुपर्ने दुःख र तनाव झेल्न आवश्यक पर्ने धैर्य र लगन विकास भइरहेको हुँदैन। परिणामतः अभिभावकले पनि सन्तानको मायाले बेलायत पढाएको भन्ने पुष्टि नहुन सक्छ। अधिक मायाले पनि विपत्ति निम्त्याउन सक्छ। १९-२० वर्षका युवायुवतीको भविष्य बारे निर्णय लिंदा १० वर्ष पछिसम्म भविष्यमा आउने असरको बारेमा सोचेर निर्णय लिनु उचित हुन्छ। 

बेलायत, अमेरिका पढ्न पठाउन ५०औं लाख खर्च गर्न तयार हुने अभिभावकहरूले ८-१० लाख खर्च गरेर गरिखाने कोर्ष किन नगराउने ? नेपालमा राम्रो ट्युसन र परिवारको निगरानीमा स्नातकसम्म अध्ययनका साथै सीप सिकाउन सके परिपक्वता, अनुभव, ज्ञान हुनुका साथै दिगो र सुरक्षित भविष्यको बाटो समाउन सजिलो हुन्छ।

नेपाली युवायुवतीले बेलायत मात्र हैन कुनै पनि देश जानुअघि कम्तीमा स्नातकसम्म अध्ययन सकेर सीप सिक्ने, कामको अनुभव लिने र भाषा, सवारी चालन र कम्प्युटरको दक्षता हासिल गर्नु अत्यावश्यक हुन्छ।

विश्व बजारमा माग हुने र चलेका छोटा अनलाइन कोर्षहरू र सर्टिफिकेसन, युट्युब, लिंक्डइनमा उपलब्ध छोटा कोर्ष, अकाउन्टिङ सफ्टवेयर जस्ता व्यावसायिक कोर्ष सिक्नु त एकदमै राम्रो। केही नभए पनि दैनिक जीवनमा आवश्यक पर्ने कपाल काट्ने, ब्युटिसियन तालिम, केयर, मन्टेसरी, सिलाई–बुनाई, ग्राफिक डिजाइन, कुक जस्ता सीप सिक्न सक्दा त अत्युत्तम हुने भइहाल्यो। यति भयो भने विदेश गए पनि नगए पनि जागिर र पैसा तपाईंलाई खोज्दै आउनेछ।