अमेरिका — गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको भएपनि अब यसले प्रिमियम ल्याउने विचार गरिरहेको समाचार आएको छ ।
कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका अनुसार अनुसार गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई)लाई सशुल्क बनाउन लागेको छ । यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नुपर्नेछ ।
गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको फाइनान्सियल टाइम्समा छापिएको खबरमा बताइएको छ । यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् । कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् । सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् ।
खबरका अनुसार गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ । तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो । गुगलले यूजरहरुलाई प्रिमियम सेवा दिन विज्ञापन मुक्त सर्च टुलमा पनि काम गरिरहेको बताएको छ ।