भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता सकारात्मक

लन्डन । भूपू गोर्खाहरूको माग सम्बोधन गर्न गठित द्विपक्षीय समितिको चौथो वार्ताले सम्पन्न भएको छ । बुधबार बसेको चौथो वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भए पनि बेलायती पक्षले आगामी बैठकमा थप समाधान खोज्ने बताएपछि ठोस निष्कर्ष निस्कन नसकेको हो ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए । यस्तै बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसनलगायत रक्षा मन्त्रालय अन्तर्गतका अधिकारीहरूको सहभागिता थियो । गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बीजीडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राई सहभागी थिए ।
बेलायती सरकारले यसअघि पनि गोर्खाको हितका लागि विभिन्न समयमा गरेका सकारात्मक निर्णयलाई समेत आधार मानी नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै भूपू गोर्खाका मागको विषयमा दीर्घकालीन समाधान खोज्ने बिषयमा सकारात्मक छलफल भएको दुवै पक्षको जिकिर छ ।
वार्तामा महत्त्वपूर्ण विषयमा छलफल भएको र भविष्यमा हुने वार्ताबाट आफूहरूको मागको बारेमा सुनुवाइ हुने विश्वास भूपू गोर्खाहरूले व्यक्त गरेका छन् ।