जापानमा नेपाली स्कुल : विद्यार्थीको घुइँचो

 जापान । नेपालमा प्रायः ठूला शहरमा विदेशी भाषा सिकाउने कक्षा सञ्चालनमा छन् । त्यहाँ बिहानदेखि बेलुकासम्म विभिन्न देशका भाषा सिक्ने विद्यार्थीको घुइँचो नै लाग्छ । अझ भाषा पढाइने क्याम्पसमा नाम निकालेर जापानिज, चाइनिज भाषा पढ्नेको संख्या पनि कम छैन ।

यसरी नेपालमा विदेशी भाषाको लगाव बढिरहँदा अभिभावकसँगै जापान पुगेका नेपाली बालबालिका भने नेपाली भाषा र पाठ्यक्रममा राखिएका कुरा अध्ययन गर्न जापानमा सञ्चालित नेपाली विद्यालय धाइरहेका छन् । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो ।

एभरेष्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले अनलाइनखबरलाई बताए । एभरेष्टमा नेपालीसँगै जापानिज, इन्डियन र जाम्बियाका विद्यार्थी पढ्छन् ।

विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । विद्यालयको क्षमता भन्दा धेरै विद्यार्थी भर्ना गर्न नमिल्ने हुँदा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिरहेको प्रधानाध्यापक भट्ट बताउँछन् । ‘पछिल्लो समय एभरेष्टमा पढ्न चाहने विद्यार्थी हृवात्तै बढेका छन् । तर हाम्रो स्रोत र साधनले नधान्ने हुँदा सबैलाई लिन सकिरहेका छैनौं’, प्रधानाध्यापक भट्टले भने ।