गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि पेश गर्नुपर्ने कागजातहरु 

गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई गैरआवासीय नागरिकता लिने बाटो खुला भएको छ ।

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको छ । राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले कुन कुन प्रकृया अपनाउने भन्नेबारे स्पष्ट पारिएको छ ।

संशोधित नागरिकता ऐनमा “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” व्यवस्था छ।

यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्। गैरआवासीय नेपाली नागरिकताले नेपालमा रहेको पैतृक सम्पत्ति, घरजग्गा र व्यापार व्यवसायमा गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्ने अधिकारीहरू बताउँछन्।

नेपालको नागरिकता फिर्ता नगरि विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ।