काठमाडौं : होटलमा खाना पकाउने शेफले नेपालको नाम यसरी विश्वभर प्रख्यात बनाउन सक्ला भनेर शायदै कसैले सोंचेको थियो । तर, सिरहा कर्जन्हाका सन्तोष साहले नेपाललाई विश्वभर यसरी चिनाइदिए कि नेपालको नामै नसुन्नेहरुले नेपालको नाम मात्रै होइन, नेपाली स्वाद पनि थाहा पाए ।
परिवारको गर्जो टार्न परदेशिएका सन्तोष करिव बीस वर्षे परदेश बसाइमा सेलिब्रेटी नै बनेका छन् । बीबीसी मास्टरसेफ प्रोफेसनलस २०२० का उपविजेता सन्तोष पाककलाका माध्यमबाट आफू मात्रै चर्चित भएनन्, नेपाली खाना र नेपालीपनलाई पनि चर्चाको शिखरमामा पुर्याएका छन् । बेलायतको लण्डनस्थित पाँचतारे रेस्टुरेन्ट सिनामनका कार्यकारी शेफ सन्तोष तीन सातादेखि नेपालमा छन् ।
लण्डनमा रहँदा उनी ड्युटी समय अनुसार व्यस्त रहन्थे । तर, जब उनी नेपाल अवतरण गरे, त्यति बेलादेखि नै उनलाई भ्याई नभ्याई छ । ‘सेलिब्रेटी हुनु भनेको त व्यस्त हुनु रहेछ,’ ग्लोबल नेप्लिजसँग कुरा गर्दै उनले भने, ‘व्यक्तिगत जीवन नै हुँदैन कि जस्तो लागेको छ ।’
दुई हप्ता काठमाडौं बसाइपछि सन्तोष गत साता गृहजिल्ला सिरहा पुगेका छन् । काठमाडौंमा न्यानो स्वागत लिएर सिरहा पुगेका सन्तोषले वृद्ध आमाको माया पाए ।
‘मदर्स डे’ मा आमाको काख
संयोग नै मान्नुपर्छ, गत आइतबार मार्च १४ मा उनको कर्मक्षेत्र बेलायत मा मदर्स डे (मात्री दिवस) मनाइरहँदा सन्तोष भने काठमाडौं छाडेर जनकपुर हूँदै कर्जन्हा जाँदै थिए । आइतबार अपरान्ह जनकपुर विमानस्थल ओर्लिँदा स्वागत गर्नेहरुको अग्रभागमा एक वृद्धा हातमा फूलको माला लिएर बसिरहेकी थिइन् । ती वृद्धा अरु कोही नभएर उनकै आमा सुमरीदेवी थिइन् ।
आमा छोरा केहीबेर अंकमाल गरेर आँशु झारे । आँशु पुछेपछि दुवै हाँसे । हाँसो त खुसीकै थियो, दुवैको आँखाबाट बगेका आँशु पनि खुसीकै थिए । ‘छोरा तैँले राम्रो गरिस्, नेपालकै नाम फैलाइस्, तँ धन्य छस्’ अंकमाल गर्दा आमाले छोरा सन्तोषलाई भनेकी थिइन् ।
‘जनकपुर एयरपोर्टमा आमा पनि आउनु भएको रहेछ’ सन्तोषले सुनाए, वृद्ध आमा एयरपोर्टसम्म आउनु नै ठूलो कुरा थियो ।’ उनको स्वागतका लागि फूलमालासँगै एउटा केक पनि राखिएको थियो । आमा छोराले केक काटे, पालैपालो खुवाए ।
‘मदर्स डे’ कै दिनमा तपाईँ घरमा पुग्नु भयो, आमालाई मनपर्ने कुनै विशेष परिकार बनाएर खुवाउनु भयो कि ? भन्ने प्रश्नमा सन्तोषले छोराले आमा र आमाले छोरा भेट्दा कुनै पनि परिकार फिक्का हुने भावनात्मक जवाफ दिए ।
लण्डनमा बसे पनि उनले नेपाली संस्कार भने भुलेका छैनन् । ‘मदर्स डे त हाम्रो होइन, हामी त आमाको मुख हेर्ने दिन मनाउँछौं नि होइन ?’ उनले प्रतिप्रश्न गरे ।
समय व्यवस्थापन समस्या
लण्डनबाट आएपछि दुई साता काठमाडौं बसेका सन्तोषलाई एक दिन पनि फुर्सद भएन । सम्मान, पुरस्कार, भ्रमण तथा भेटघाटमै उनको समय बित्यो । एकै दिन तीनवटा सम्म कार्यक्रममा उनी सहभागी भए ।
काठमाडौंका सबैजसो पाँचतारे होटलले उनलाई आमन्त्रण गरे । नेपाल पर्यटन बोर्डसहित पर्यटनको क्षेत्रमा कार्यरत संस्थाहरुले पनि उनलाई उत्तिकै व्यस्त बनाए । अहिले सिरहा पुग्दा पनि उनलाई फुर्सद छैन । पूर्व झापादेखि पश्चिम धनगढी सम्मका नाम चलेका सबैजसो होटलले उनलाई बोलाइरहेका छन् ।
‘अहिले त यस्तो लागिरहेको छ कि, मसँग मलाई नै चाहिने समय छैन, सबैले बोलाउनु हुन्छ, कहाँ जाने कहाँ नजाने, मिलाउनै सकेको छैन’ उनले आफ्नो व्यस्तताबारे बेलिविस्तार लगाए । तर, जहाँ गए पनि उनले स्थानीय तहमा प्रचलित खानाका परिकारबारे अध्ययन भने गरिरहेका छन् ।
घुँगीले तान्यो ध्यान
अघिल्लो साता काठमाडौंको रैथाने नेवार समुदायको खानाको अध्ययन गरेका सन्तोषले नेवारी खानालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिने बताएका थिए । उनले केही संभावना पनि देखेका छन् ।
अहिले उनी तराईमा छन् । तराईमा पुगेपछि उनको ध्यान थारु समुदायको खानाले खिचेको छ । थारु समुदायको विशेष खानामा पर्ने घुँगीमा उनको जिब्रो अड्किएको छ । ‘जब मैले घुँगी खाएँ, मेरो ध्यान तान्यो’ उनले भने ।
घुँगीलाई यूरोपेली बजारमा परिचित गराउन मन छ, त्यसबारेमा सोँचिरहेको छु, उनले योजना सुनाए ।
हुन त उनले नेपाली खानाका परिकारहरुको सँगालो सहितको एउटा पुस्तक नै तयार पार्दै छन् । उनको यसपटकको नेपाल आगमनको प्रमुख उद्देश्य पनि त्यही हो । ‘पुस्तकलाई थप परिस्कृत गर्न सकिन्छ कि भन्नेमा पनि अध्ययन गरिरहेको छु,’ उनले भने ।
युरोपियनहरुलाई त नेपाली खानाको स्वादले तानिसकेको उनको दाबी छ । ‘अब कसरी सबैको सामु पुर्याउने भन्ने मात्रै चुनौति हो,’ उनले भने, ‘मेरो योजना भनेकै नेपाली खानाको प्रचार प्रसार गर्नु हो ।’
उहिलेका ती दिन, अहिलेका यी दिन
नेपालीमा एउटा भनाइ छ ‘ऋण लाग्नु तर दिन नलाग्नु’ । पाककलाका गुरु सन्तोषले ३५ वर्षे जीवनमा धेरैकुरा भोगे । पाँच वर्षको उमेरमा बुवा गुमाएका सन्तोषले नभोगेको शायदै समस्या होलान् ।
परिवारका कान्छा सन्तान सन्तोष । पारिवारिक बोझ नहुनुपर्ने हो । तर, परिवारको बोझ उनीमाथि नै पर्यो ।
जेनतेन दश कक्षासम्म पढेका सन्तोषलाई त्यसपछि पढ्ने अवसर मिलेन । आमालाई घरमा एक्लै छाडेर भारत पसेका सन्तोषले यति मेहनत गरे कि जो कोहीले विश्वास नै गर्दैन ।
भारतमा झण्डै दश वर्ष विभिन्न रेस्टुरेन्ट तथा होटलहरुमा काम गरेपछि उनलाई लण्डन जाने अवसर मिल्यो । कसैले दया गरेर उनलाई लण्डन पुर्याएको होइन । उनको पाककलाबाट चर्चित भएर नै झण्डै दश वर्षअघि उनी लण्डन पुगेका थिए ।
घर खर्च चलाउन नसकेर मुग्लान पसेका सन्तोष विश्वकै चर्चित तथा विकसित शहर लण्डन पुग्लान भनेर उनकै आफन्तहरुले पनि सोचेका थिएनन्। जब उनले लण्डनमा आकर्षक तलब पाउन थाले, त्यसपछि त पहिले परिवारको वास्तै नगर्ने दाजुहरुले पनि बुढी आमाको सेवा गर्न थाले ।
सन्तोषले अहिले मनग्य कमाउँछन् । पैसा त कमाउँछन् नै, त्यो भन्दा बढी प्रतिष्ठान कमाएका छन् । उनले कमाएको प्रतिष्ठाका कारण उनको परिवारले मात्रै होइन, सिंगो देशले नै गर्व गरिरहेको छ ।
सन्तोष आर्थिक रुपमा सक्षम भइसकेका छन् । आमा सुमरदेवीलाई अब आर्थिक रुपमा कुनै चिन्ता छैन । छोराले ख्याति कमाउँदा सुमरीदेवी मख्ख छन् । तर, पनि उनी सन्तुष्ट भने छैनन् । कारण सन्तोषको विवाह भएकै छैन ।
सन्तोषले नेपालको यही बसाइका क्रममा लगनगाँठो कस्ने संभावना उत्तिकै छ । तर, पनि उनले यस बारेमा केही खुलाएनन् । एक महिनाका लागि नेपाल आएका सन्तोषको नेपाल बसाइ लम्बिने निश्चित छ । अझै एक डेढ महिना बस्छु, उनले भने, त्यसबीचमा गर्नुपर्ने काम धेरै छन् ।
तस्वीर सौजन्य : सन्तोष शाह